Section 13
अस्थायी नियुक्ति सम्बन्धी व्यवस्था
(१) लोकसेवा आयोगले आफूले संचालन गरेको परीक्षामा स्थायी नियुक्तिको लागि सिफारिश नभएका उम्मेदवारहरू मध्येबाट अस्थायी नियुक्ति गर्ने प्रयोजनको लागि छुट्टै योग्यताक्रम अनुसारको सूचि प्रकाशन गर्नेछ ।
(२) सेवाको कुनै रिक्त पदमा अस्थायी नियुक्ति गर्नु पर्ने भएमा अख्तियारवालाले लोक सेवा आयोगमा लेखि पठाउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम लेखि आएमा लोक सेवा आयोगले योग्यता क्रमको सूचिमा रहेका व्यक्तिलाई मागको आधारमा बढीमा ६ महिनाको लागि अस्थायी नियुक्ति गर्न नाम सिफारिश गरी पठाउनेछ ।
(४) उपदफा (१) बमोजिमको सूचि प्रकाशन नभएको अवस्थामा वा उपदफा (३) बमोजिम सिफारिश भएका व्यक्तिको संख्या रिक्त पद संख्या भन्दा कम भएमा लोक सेवा आयोगको सहमति लिई ६ महिना सम्मको लागि अस्थायी नियुक्ति गर्न सकिनेछ ।
(५) लोक सेवा आयोगबाट स्थायी पदपूर्तिको लागि सिफारिश भई नआएसम्म लोक सेवा आयोगको सहमति लिई यस दफा बमोजिम नियुक्ति गरिएका कर्मचारीको म्याद थप गर्न सकिनेछ ।
(६) उपदफा (४) बमोजिम अस्थायी नियुक्ति गरेको जानकारी सात दिन भित्र सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्नेछ ।
(७) माथि जुनसुकै कुरा लेखिएको भए तापनि सेवाको कुनै पदमा स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगरी त्यस्तो पदमा अस्थायी नियुक्ति गर्न पाइने छैन ।
(८) यस दफा विपरीत कसैले अस्थायी नियुक्ति गरे गराएमा त्यस्तो नियुक्ति भएको कर्मचारीले खाई पाई आएको तलब, भत्ता र अन्य सुविधा
वापतको रकम नियुक्ति गर्ने गराउने पदाधिकारीबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।